पौष ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा चितुवाले बाख्रा मार्न थालेपछि गाउँभरि त्रास बढेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मा स्थित सोलु खोलाको बगरमा कन्चन कृषि फर्मका ५ वटा बाख्रा मारेसँगै नगरबासीमा त्रास बढेको हो ।
सोमबार दिउँसो करिब ३ बजे बाख्रा चराउने क्रममा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला स्थित कन्चन कृषि फर्मका संचालक हर्क बहादुर कार्कीको चितुवाले बाख्रा मारेको बताइएको छ । ३ वटा माउ बाख्रा, २ वटा ब्याउने बाख्रा मारेको र एउटा बाख्रा घाईते बनाएकोमा सो बाख्रा समेत बिहान मरेको कार्कीले गुनासो गर्नुभयो ।
७० देखि ८० वटा सम्म बाख्रा व्यवसाय गर्दै आएका कार्कीको चितुवाले बाख्रा मार्दा करिब ६० हजार बराबरको क्षति भएको जानकारी दिनुभयो । क्षतिपूर्तिका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिएको कार्कीको भनाई छ । एकै पटक ५ वटा बाख्रा मार्दा चितुवाले खोर नै रित्याउने हो कि भन्ने नगरबासीहरुमा त्रास फैलिएको छ ।
Discussion about this post