पौष १०, सोलुखुम्बु । ७० बढी महिलाको सहभागितामा नेचासल्यान गाउँपालिका वडा नम्बर ५ मा तरकारी खेती तथा वीज वृद्धि सम्बन्धी कार्यक्रम सुरु भएको छ । वडा महिला सञ्जालको आयोजना तथा नेचासल्यान गाउँपालिका वडा नम्बर ५ सोलुखुम्बुको सहयोगमा आज बुधबारबाट ५ दिने तालिमको सुरुवात भएको हो । सम्पन्न तालिम उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष धनजन राई तथा उपाध्यक्ष विना राईले सम्बोधन गर्नुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाले सानातिना भएपनि कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।
उहाँले गाउँपालिकाले महिलाहरूका लागी सञ्चालन गरिएका कार्यक्रमहरू कति दीर्घकालीन, प्रभावकारी छन् भन्ने विषय भोलिको समयमा मूल्याङ्कन हुने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीका कारण देश खाली भइरहेकोले कृषि क्षेत्रमा लगानी र लगाव घटेको भन्दै विदेशमा गएर गरेको श्रम लगानीले नेपाललाई भने ठुलो घाटा भएको बताउनुभयो । उहाँले यो परिणामको जिम्मेवार सरकारमा रहनेहरूनै दोषी भएको दावी गर्नुभएको छ । उहाँले देशमै रहेर युवाले केही गर्न सक्ने वातावरण निर्माण गर्न निकै चुनौति भएको उल्लेख गर्दै आफूहरू यसप्रति चिन्तित भएको बताउनुभयो ।
उहाँले स्थानीय सरकारले विभिन्न निकायसँग समन्वय गरेर सञ्चालन गरेका सानातिना कार्यक्रमहरूले पनि प्रतिफल दिन सक्ने भएकाले तालिममा सहभागी सबैले तालिम पछि कृयाशिलताका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विना राईले ५ दिन सम्म सञ्चालन हुने तालिमले नेचासल्यान गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसका लागी आवश्यक श्रोत साधन र समन्वय गाउँपालिकाले गर्ने बताउनुभयो ।
उहाँले नेचासल्यानमै फलेको तरकारीले यहाँको बजार धान्न सक्ने वातावरण बन्ने हुन सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले गाउँपालिकाले अावश्यक सामाग्रीको व्यवस्थापन गाउँपालिकाले गरिरहेकाले त्यसको सदुपयोग गर्नुपर्ने बताउनुभएको उपाध्यक्ष राईलाई उदृत गर्दै सहकर्मी धनकुमार ढुङ्गेलले बताउनुभयो । कार्यक्रममा वडा महिला सञ्जालकी अध्यक्ष मेनुकला राईको अध्यक्षता रहेको थियो भने कार्यवाहक वडा अध्यक्ष प्रेम प्रसाद श्रेष्ठ कृषि प्राविधिक तारा सुनुवार लगायतको उपस्थिति रहेको थियो तालिममा वडा भित्रका इच्छुक ७० जना भन्दा बढी महिलाको सहभागिता रहेको छ तालिमको सहजीकरण दक्ष कृषि प्राविधिक बाट हुने आयोजक लाई उदृत गर्दै सहकर्मी ढुङ्गेलले बताउनुभयो । ५ दिने बिज वृद्धि तथा तरकारी खेती सम्बन्धि तालीम ५ नं वडा कार्यलयमा सञ्चालन हुने छ ।
Discussion about this post