पौष १६, सोलुखुम्बु । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । दिवसको अवसरमा आज कांग्रेस र उसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गर्दैछन् । २०३३ साल पुस १६ मा नेपाली कांग्रेसका संस्थापक नेतासमेत हरेका बीपी कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्यलगायत नेता÷कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई झण्डै आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्कनुभएको थियो ।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट देख्नुभएका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको हो । २०१७ साल पुस १ मा तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई झण्डै तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यही वर्ष फागुन २६ गते सुन्दरीजल बन्दी गृहमा स्थानान्तरण गरिएको थियो ।
आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुग्नुभएका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप शुरू गर्नुभएको थियो ।
Discussion about this post