पौष २५, सोलुखुम्बु । झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्ने देशकै तेस्रो लामो झोलुंगे पुलको उद्घाटन गरिएको छ । बिहीवार झापा क्षेत्र १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको उद्घाटन गरेका हुन्। योसँगै पुल कोशी प्रदेशकै लामो पुल बनेको छ ।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथि निर्माण भएको ४७७ मिटर लम्बाइको झोलुंगे पुल बिहीवारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। पुल उद्घाटन गर्दै महामन्त्री शर्माले पुल आवतजावतका लागि सहज मात्रै नभई यसले स्थानीयवासीको जीवन बदल्ने विश्वास लिएको बताउनुभयो । अब बुद्धशान्ति गाउँपालिकाका दुईवटा वडालाई मात्रै जोड्ने नभई पुलले इलाम र झापाका गाउँलाई पनि जोड्ने स्थानीयको आशा छ ।
उक्त आशा यथार्थमा परिणत हुने विश्वास आफूहरूले लिएको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको भनाई छ । पुलमा अहिलेदेखि नै मानिसको घुइँचो लाग्न थालेको छ । गत असार २४ गते झापा क्षेत्र नं १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री शर्माले पुलको शिलान्यास गरेका थियो । थानी जगदम्बा जेभी काठमाडौँले निर्माण गरेको झोलुंगे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँ ३५ पैसामा पारेको थियो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गतेभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि करिब ६ महिनामै उक्त काम सम्पन्न भएको हो ।
Discussion about this post