जेठ ६, साेलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ८ देउसामा अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान शिविर सम्पन्न भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र थुलुङदुधकोशी गाउँपालिकाको संयुक्त साझेदारीमा एवं राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रम अन्तर्गतको शिविर सम्पन्न भएकाे हाे ।
शिविरमा ५ गते शनिबार ४५ जनाले सेवा लिएका छन् । जसमा ३३ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यसैगरी अपाङ्गता परिचयपत्र नवीकरण ६ जनाको गरिएको छ भने १ वटा रातो परिचयपत्र नवीकरण भएको साथै ४ वटा पहेँलो परिचयपत्र नवीकरण गरिएको वडा अध्यक्ष राजेश राई जानकारी दिनुभयो । शिविर रनेमको हेलिप्याडमा सञ्चालन भएको थियो ।
गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना शिविर सञ्चालन भएपछि यसले गाउँपालिकामा अपाङ्गता भएकाहरूको संरक्षण र आधारभुत विकासमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।साथै अपाङ्गता रोकथामका लागी यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिका अध्यक्ष असिम राईले विश्वास व्यक्त गर्नुभएको छ ।
यसअघि छुटेकाहरुले पनि सेवा लिन पाएकोमा वडा अध्यक्षले खुसी व्यक्त गर्नुभयो । आफुलाई पायक पर्ने ठाँउमा सेवा पाउँदा सेवाग्राही पनि हर्षित बनेको राईको भनाई छ ।
शिविरमा सामान्य कान नसुन्ने र आँखा नदेख्नुको कारण समेत पहिचान गरि उपचार गरिएको छ ।
Discussion about this post