माघ २, सोलुखुम्बु । वायुसेवा सञ्चालक संघले सोलुखुम्बु जिल्लाभित्र हवाई सेवा पूर्ण रूपले बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघले सुरक्षाको प्रत्याभूति नभए आगामी बुधबार (जनवरी २२) देखि सोलुखुम्बु जिल्लाभित्र उडान गर्ने ’स्टोल’ वायुसेवा कम्पनीहरूले समेत हवाई सेवा पूर्ण रूपमा बन्द गर्ने बताएका हुन् ।
यसअघि सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी/ गैर–सरकारी संघ÷संस्थाहरूले विरोध गरेपछि हेलिकप्टर कम्पनीहरूले उडान बन्द गरेका थिए । केही दिनअघि राष्ट्रिय निकुञ्जले भने उडान खुला गरेको सूचना निकालेको थियो। यद्यपि गाउँपालिका तथा स्थानीय क्लबहरूले निरन्तर अवरोध दिइरहेकाले वायुसेवा कम्पनीहरूले हेलिकप्टर उडान भने गर्न सकेका छैनन् ।
गत पुस २१ गतेदेखि यो क्षेत्रमा हेलिकप्टर उडान बन्द छ । स्थानीयहरूले हेलिप्याडमा अवरोध गरिरहेका छन् । साथै अब सोलुखुम्बु जिल्लाभित्र नै हवाई सेवा प्रभावित हुन सक्ने देखिएको छ । हेलिकप्टर उडानमा लगाएको प्रतिबन्धमा वायुसेवा कम्पनीलाई ठूलो नोक्सानी परेको संघका अध्यक्ष मनोज कार्कीले बताए । उनका अनुसार यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पु¥याएको छ ।
Discussion about this post