माघ १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन १ सय मेट्रिक टनले वृद्धि भएको छ । गत वर्ष ७ सय मेट्रिक टन उत्पादन भएकोमा जिल्लामा यस वर्ष बढेर ८ सय मेट्रिक टन किबी उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उपेन्द्र ठाकुरका अनुसार गएको वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो ।
जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै गएको ज्ञान केन्द्रका प्रमुख दुुर्गा बहादुर तिवारीले बताउनुभयो । किवी रोपेको करिब २,३ वर्षमा मात्रै उत्पादन दिने भएकाले केही बर्ष पछि थप उत्पादनमा भारी वृद्धि हुने उहाँको भनाई छ । जिल्लामा हाल ११५ हेक्टर क्षेत्रफलमा किवी खेती गरिदै आएको छ । जसमा १०४ हेक्टर क्षेत्रफलमा लगाइएको किवीले मात्र उत्पादन दिन थालेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जिल्लाको गार्मा, साल्मे, सल्लेरी, तामाखानी, बेनी, फाप्लु, टाक्सिन्दु, नेले, काँगेल, मुक्ली, जुबु, देउसा, काँकु, बासा, खरिखोला, बुङ, छेस्काम, गुदेल, सोताङ, चौलाखर्क, नेचाबेत्तघारी, नेचाबतासे, सल्यान, तिङला लगायतका क्षेत्रहरुमा किवी खेती हुने गरेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।











Discussion about this post