माघ २१, सोलुखुम्बु । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले सुरी भीर ‘रक क्लाइम्बिङ’ को राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याई उद्घाटन गर्ने बताउनुभएको छ । जिल्लाकै पहिलो रक क्लाइम्बिङ सेन्टरको निर्माण कार्य अन्तिम चराणमा पुगेसँगै उदघाटनमा अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याउने योजना रहेको बताउनुभएको हो ।
गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमानामा रहेको सुरी भीरमा रक क्लाम्बिङ सेन्टर निर्माण भइरहेको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ मा १० लाख बजेट विनियोजन गरेर सुरी भीरमा रक क्लाइम्बिङ सेन्टर निर्माणको कार्य अघि बढाइएको अध्यक्ष शेर्पाको भनाई छ ।
साहसिक खेलकुद तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गाउँपालिकाको पर्यटन सद्भावना दूत सगरमाथा आरोही कुङ्गा शेर्पाको अगुवाईमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका आठ जना गाइडहरूले उक्त भीरमा क्लाइम्बिङ रुट निर्माण गरिरहनु भएको छ ।
एसोसिएसनका तीन जना अन्तर्राष्ट्रिय र पाँच जना राष्ट्रिय रक गाईडहरू मार्फत करिब ५५ मिटर लामो चार वटा मल्टी पिक र आठ वटा नर्मल पिक रुट निर्माण भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।
Discussion about this post