माघ २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले चैत्र मसान्त भित्र सबै योजना सम्झौता गरिसक्न टोल विकास संस्थाहरूलाई अनुरोध गरेको छ । मनसुनको समयमा योजना सञ्चालन गर्दा ढुवानी प्रकृयाका साथै अनुगमन प्रकृयामा समेत समस्या हुने भएपछि गाउँपालिकाले चैत्र मसान्त भित्र योजना सम्झौता गरिसक्न भनेको हो । चालु आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाबाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी र दीर्घकालीन बनाउन गाउँपालिकाले यस्तो कदम चालिरहेको जनाइएको छ । अधिकांश पालिकाहरूमा बजेट कार्यान्वयन आर्थिक वर्षको अन्त्यमा अर्थात असारे विकास हुँदा विकासका कामहरू प्रभावकारी नहुने पक्षलाई मध्यनजर गर्दै गाउँपालिकाले सबै वडाका टोल विकास संस्थाहरूलाई समयमै योजना सम्झौता गरि काम सक्न भनिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदिप राईले गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा गठित योजना अनुगमन समितिको अनुगमन विना कुनै पनि भुक्तानी प्रकृया अगाढी नबढ्ने बताउनुभएको छ ।
Discussion about this post