माघ २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा धार्मिक स्थल संरक्षणका लागि चार वटा धार्मिक वनको व्यवस्था गरिएको छ । धार्मिक स्थल वा त्यसको वरिपरिको वन विकास र संरक्षणका लागि जिल्लामा चार वटा धार्मिक वनको व्यवस्थापन गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लामा गौरी टाप धार्मिक वन, कुन्तादेवि धार्मिक वन, पुम्लालुङ धार्मिक वन र सेरावत छोलिङ आनिगुम्बा धार्मिक वन रहेको डिभिजन वन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मनराज राईले बताउनुभयो ।
धार्मिक वनमा रहेका वन पैदावार सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले व्यापारिक प्रयोजन बाहेकका अन्य धार्मिक कार्यमा उपयोग गर्न सक्नेछ तर वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने गरी वा सार्वजनिकरूपमा हानि नोक्सानी हुने गरी वा जलाधार क्षेत्रमा भू–क्षय हुन सक्ने गरी रुख कटान गर्न नपाइने वन ऐनमा उल्लेख गरिएको छ ।
मन्दिरहरुलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्य रहेको डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले बताउनुभयो । धार्मिक वनमा सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले नियम विपरीतको कार्य गरेमा वा धार्मिक वनमा गर्नुपर्ने कार्य सञ्चालन गर्न नसकेमा वा ऐन र ऐनअन्तर्गत बनेको नियमबमोजिम पालन गर्नुपर्ने कुराहरु पालन नगरेमा डिभिजनल वन अधिकृतले त्यस्तो धार्मिक वन फिर्ता लिने व्यवस्था रहेको प्रमुख शाहले उल्लेख गर्नुभयो । सोलुखुम्बुमा हाल १७० वटा सामुदायिक वन, ६ वटा कबुलियती वन र १०० वटा निजी वन रहेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post