फाल्गुन १, साेलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला बुस्तिङमा गुम्बाको उद्घाटन गरिएको छ । बौद्ध धर्मका गुरु पेमा धार्क्षेन रिम्पोछेको बाहुलीबाट बुस्तिङमा नवनिर्मित अोग्यान साम्डुपलिङ बौद्ध गुम्बाको विहीबार उद्घाटन गरिएको हो । सोलुदुधकुण्ड नगरपालिकाको ३२ लाख सहित दाताहरूको सहयोगमा करिव १ करोड ५० लाखमा निर्माण गरिएको गुम्बाको सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको विशेष आतिथ्यतामा उद्घाटन गरिएको छ ।
शेर्पा समुदायको धर्म सहित पहिचानसँग जोडिएको गुम्बा तिङलामै पहिलो मानिएको छ । २०७५ सालबाट निर्माण सुरु भएको गुम्बा ६ वर्ष पछि विहिबार उद्घाटन गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताउनुभयो । गुम्बा उद्घाटनका लागी नेचासल्यान गाउँपालिकाका पूर्व अध्यक्ष तथा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला, सोलुदुधकुण्ड नगरपालिका ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, वडा नम्बर ११ तिङ्लाका का अध्यक्ष टङ्क बहादुर कार्की, नगरपालिकाकी पूर्व उपाध्यक्ष तथा एमाले सचिव कल्पना राई पुग्नुभएको थियो । प्राण प्रतिष्ठा लगायत अन्य कार्यक्रम सहितका कार्यक्रम गर्दै गुम्बाको औपचारिक उद्घाटन गरिएको हो ।
Discussion about this post