फागुन ८, सोलुखुम्बु । यातायात कार्यालय खुर्कोटमा सवारी चालक अनुमतिपत्र परिक्षा पटकपटक स्थगित भएको भन्दै सेवाग्राहि आक्रोसित भएका छन् । कार्यालयले तोकेको समयमा परिक्षा संचालन गर्न नसकेको हो । कर्मचारी अभावको कारण कार्यालयले परिक्षा स्थगित भएको भन्दै सूचना प्रकाशन गरेको छ । कार्यालयले फागुन ८ गते सञ्चालन गर्ने भनिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षालाई कर्मचारी अभाव देखाउँदै स्थगित भएको हो ।
यसअघि प्राविधिक कारण भनेर परीक्षा स्थगित गर्ने गरिएको थियो । खुर्कोटमा दरबन्दी रहेका तथा त्यहीँबाट तलब–भत्ता बुझिरहेका मेकानिकल इञ्जिनियरलाई हप्ताको ३ दिन बनेपा र ३ दिन खुर्कोटमा कार्य गर्ने गरी कामकाज तोकिएको छ । तर, इञ्जिनियर हप्तामा एक दिन पनि खुर्कोट कार्यालयमा नआउँदा पटक–पटक लाइसेन्स परीक्षा रद्द गर्नुपर्ने अवस्था रहेको नाम उल्लेखगर्ने सर्तमा यातायात कार्यालय खुर्कोटका एक कर्मचारीले बतानुभयो ।
फागुन ८ गतेका लागि तय गरिएको लाइसेन्स परीक्षाका लागि करिब ५० जनाले फारम भरिसकेको कार्यालयका ति कर्मचारीले जानकारी दिनुभयो । लाइसेन्सका लागि फारम भरेका अन्य सेवाग्राहीहरू पनि अन्योलमा परेका छन् । कार्यालयमा इञ्जिनियर मात्र होइन, अन्य कर्मचारीहरू पनि नियमित रूपमा उपस्थित हुने गरेका छैनन् । स्थानीयहरूका अनुसार, खुर्कोट यातायात कार्यालयका कर्मचारीहरुले विदा लिने चलन छैन् । विदा नै नलिई कर्मचारी हप्तौं हराउने गर्छन् र पछि एकैपटक हाजिर गर्ने गरेको स्थानियको आरोप छ ।
Discussion about this post