फागुन १३, सोलुखुम्बु । खोटाङमा सवारी दुर्घटनाबाट २ जना शक्त घाइते भएका छन् । मङ्गलबार बिहान ८ः३० मा सगरमाथा राजमार्ग अन्तर्गत जिल्लाको दिक्तेल हलेसी सडक खण्डको नुनथलामा सुमो र बाइक एकापसमा ठोक्किँदा भएको दुर्घटनाबाट २ जना घाइते भएका हुन । दिक्तेलबाट हलेसी तर्फ जन्ती जाँदै गरेको बाइकमा सवार २ जनालाई विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ६२१९ नम्बरको सुमोले ठक्कर दिएको थियो । सुमोको ठक्करबाट बाइकमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाका ४५ वर्षिय मदन गिरी र सोही वडाका ४७ वर्षीय लक्ष्मी प्रसाद गिरि घाइते भएका छन् । घाइतेहरू दुवैजनाको उपचारका लागी जिल्ला अस्पताल दिक्तेल पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाइएको छ ।
Discussion about this post