फागुन २३, साेलुखुम्बु । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुनै भूमिका र योगदान नरहेको बताएका छन् । नेपालमा लोडसेडिङ अन्त्यको श्रेय भारतलाई जाने बताउँदै त्यसका लागि भारतलाई धन्यवाद दिनुपर्ने मन्त्री खड्काको भनाइ थियो ।
प्रतिनिधिसभाको बैठकमा घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन भएका प्रयासबारे सांसदले उठाएका प्रश्नको बिहीबार जवाफ दिने क्रममा मन्त्री खड्काले नेपालमा लोडसेडिङ अन्त्यदेखि विद्युत् बेच्नेसम्मका कार्यमा घिसिङको नभइ भारतको भूमिका रहेको बताउनु भयाे ।
लोडसेडिङ कुलमानले गर्दा अन्त्य नभएको कुरालाई जोड दिँदै खड्काले भने, ‘कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला । त्यसमा पनि छलफल गरौं । उहाँले राम्रो गरेका काममा कन्जुस्याँइ कहाँ गरौं भन्या छ र ? उहाँलाई धन्यवाद दिन सकिन्छ ।’ लोडसेडिङ घिसिङले अन्त्य गरेको भन्ने भ्रममा नबस्न खड्काले सांसदहरूलाई आग्रह गर्नु भएकाे थियाे ।
Discussion about this post