फागुन २४, सोलुखुम्बु । ‘सबै महिला तथा बालिकाका लागि स् अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।
यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै महिलाको हक मौलिक हकका रूपमा स्थापित गरेको छ ।
समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रूपमा महिलाको सहभागिता बढ्दै गएको छ । अहिले सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव ५ र पालिकामा ४१ दशमलव १ प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले झन्डै २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ ।
Discussion about this post