फागुन २३, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा १६ हजार बराबरको म्याद गुज्रिएको सामाग्री नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालय सल्लेरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा गएको बजार अनुगमन टोलीले उक्त मूल्य बराबरको अखाद्य तथा म्याद गुज्रिएको सामाग्री नष्ट गरेको हो ।
२१ वटा किराना किराना तथा होलसेल खुद्रा पसलमा गरिएको अनुगमनबाट कुल १६ हजार ३ सय बराबरका सामाग्री जफत गरि जिल्ला प्रशासन कार्यालयको रोहबरमा राखिएको हो । बजार अनुगमनका क्रममा सबैभन्दा धेरै मात्रामा म्याद गुज्रिएको पेय पदार्थ भेटिएको छ । सो मध्ये रेमा लिक्वर सेन्टरबाट सबैभन्दा धेरै म्याद गुज्रिएको पेय पदार्थ पाइएको छ । उक्त पसलबाट ५ हजार ९ सय ३० रुपैयाँ बराबरको पेय पदार्थ बरामद गरिएको हो ।
बजार अनुगमनलाई तिव्रताका साथ अघि बढाएको कार्यालयले जिल्ला सदरमुकामलाई अखाद्य बस्तु तथा म्याद गुज्रिएका सामाग्री मुक्त बजार निर्माणका लागी प्रशासन लागी परिरहेको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । बजार अनुगमनका लागी जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल सोलुखुम्बुको टोली सहित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडा लगायत उपस्थित हुनुभएको थियो ।
Discussion about this post