फागुन २७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा १५ दिने अचार तथा जाम जुस बनाउने सिप विकास तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बु आयोजनामा मंगलबारबाट उक्त तालिम सुरु भएको हो ।
सञ्चालित तालिममा वडा नम्बर २ का २० जनाले सहभागी जनाएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले जानकारी दिनुभयो । १५ दिन सम्म सञ्चालन हुने तालिममा खेदराज कार्कीले प्रशिक्षण गरिरहनु भएको छ । तालिम उदघाटन गर्दै वडा अध्यक्ष सिताराम काफ्ले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै यस्ता तालिमले नयाँ सीप प्रदानसंगै व्यवसायिक बन्ने बताउनुभयो ।
दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुने अचार बाहिरबाट महंगो मूल्यमा आयात गरिरहेको स्मरण गर्दै स्थानिय स्तरमा उत्पादन भएका वस्तुहरुलाई नयाँ तरीकाले बजारीकरण गर्न सके आफ्नै ठाँउमा स्वरोजगार बन्न सक्ने उहाँको भनाई छ ।
यस्तै घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस्तो तालिम आयोजना गरिएको बताउनुभयो । स्थानीय स्तरमा उत्पादन हुने तथा पाइने वस्तुबाट अचार बनाउनका लागि तालिममा सीप प्रदान गरिने भएको छ । तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उहाँहरु उद्यमी बन्ने आफूले अपेक्षा लिएको प्रमुख खतिवडाको भनाई छ ।
Discussion about this post