चैत्र ५, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई राँगा वितरण गर्ने भएको छ । नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम शुरू गरेको हो । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष ६२ लाख रुपैयाँ बराबरको राँगा वितरण कार्यक्रम शुरू गरिएको हो ।
तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न शुरू गरिएको नगरपालिकाका उपमेयर विशन राईले बताउनुभयो । नगरपालिकाको कृषि कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने नीति बनाइएको र अहिलेसम्म दुई सय राँगा वितरण गरेको उहाँले बताउनुभयो ।
कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले राँगा वितरण कार्यक्रम तय गरेको जनाएको छ । राँगा तथा भैँसीपालनमार्फत मल पनि उत्पादन हुने हुनाले तरकारी तथा कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा छ । नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यावसायिक खेतीका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।
Discussion about this post