चैत्र १८, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिकाले जलाधार संरक्षणको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ । पछिल्लो समय त्रियुगा उपत्यका र आसपासका सिमसार क्षेत्र अतिक्रमणमा परी जैविक विविधताको अस्तित्व सङ्कटमा पर्न थालेपछि नगरपालिकाले जलाधार संरक्षणको कामलाई उच्च प्राथमिकता दिएको हो ।
मानव अतिक्रमणसँगै हुने वन विनाश र जलवायु परिवर्तनका कारण यहाँका सिमसार क्षेत्र सुक्दै गएपछि त्यसमा निर्भर रहने जल हाँस, सिम कुखुरा, सारस र सेतो बकुल्ला जस्ता चराको समेत अस्तित्व सङ्कटमा परेकाले साझेदारी कार्यक्रम अन्तर्गत बजेट व्यवस्था गरी सिमसार क्षेत्र संरक्षणमा नगरपालिका लागि परेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । जिल्लाकोे त्रियुगा नदीबाट सप्तकोशीसम्मका सिमसार क्षेत्र लोप भएपछि त्यस क्षेत्रमा अहिले कतिपय किसानले धमाधम खेती गर्ने गरेको पाइन्छ ।
सिमसारका जग्गा अतिक्रमणमा परेर सुक्खा र उजाड बनेका छन् । सिमसार क्षेत्रमा पाइने ठुलो सङ्ख्याका जलपन्छीसमेत मानव अतिक्रमणका कारणले लोप हुँदै गएको भन्ने स्थानीयको व्यापक गुनासो आएकाले नगरपालिकाले त्यस क्षेत्रका जग्गा संरक्षणमा विशेष जोड दिएको नगरप्रमुख बस्नेतले बताउनुभयो ।
Discussion about this post