चैत्र २७, सोलुखुम्बु । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजूलाई उल्लेख्य घटाएको छ । मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म मन्त्रालयले ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजू नियमित गर्नुपर्नेमा १३ करोड ८५ लाख २३ हजार ९६८ रुपैयाँ नियमित गरेको छ ।
यस्तै असुल गर्नुपर्ने २ करोड २३ लाख ३९ हजार दुई सय ७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल गरेको छ । मन्त्रालयले अब १ करोड ७० लाख ३८ हजार २ सय ५९ रुपैयाँ असुल गर्न बाँकी देखिएको छ । यस्तै नियमित गर्न बाँकी रकम अझै २५ करोड ६२ लाख २३ हजार ८६८ रुपैयाँ रहेको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत १४ वटा जिल्ला स्वास्थ्य कार्यालय, १३ वटा जिल्ला अस्पताल, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी ट्रमा सेन्टर, प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, १४ वटा आर्युवेदिक स्वास्थ्य केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र तालिम केन्द्र धनकुटा छन् ।
त्यसमध्ये जिल्ला स्वास्थ्य कार्यालय पाँचथर, ताप्लेजुङ, धनकुटा, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर, आयुर्वेद स्वास्थ्य केन्द्र इलामलगायतले भने बेरुजू घटाउन कुनै प्रगति गरेका छैनन् । स्वास्थ्य मन्त्रालयका मन्त्री भूपेन्द्र राईले बाँकी रहेको असुल गर्नुपर्ने बेरुजूलाई असार मसान्तसम्ममा शून्यमा झार्ने बताउनुभयो ।
Discussion about this post