चैत्र ३०, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ खाँबु तथा छामलिङ क्षेत्रमा दुई वर्षदेखि व्यावसायिक केरा उत्पादन गर्दै आएका कृषक केराका बोट मर्न थालेपछि मर्कामा परेका छन् । त्रियुगा–१५ खाँबुका वडाध्यक्ष विष्णु तिमसिनाका अनुसार खाँबु क्षेत्र नगरपालिका क्षेत्रको नै केरा पकेट क्षेत्र रहँदै आएको तर एक–दुई वर्षयतादेखि केरामा विभिन्न प्रकारका रोगका कारण बोट मर्न थालेका छन् ।
यस्तै, त्रियुगा–१४ साउनेका वडाध्यक्ष हेमराज मगरका अनुसार साउने क्षेत्रको सुनकोसी किनार क्षेत्र १ नम्बर केरा उत्पादन क्षेत्र रहँदै आए पनि हाल आएर केराका बोटमा रोग लाग्न थालेको र पसाउने गरेको केरा पनि मर्न थालेपछि कृषक चिन्तित बन्न थालेका छन् । केराका बिरुवा नै पहेँलो हुने र बोटको फेदमा कुहिएर मर्न थालेपछि फल लागेका केराका बोट नै मर्ने गरेको अँधेरीका कृषक नारायण पुलामी मगर बताउँछन् । दुई वर्षदेखि गाउँका केराका बोटको फेद कुहिने र बोट मर्न थालेपछि गाउँमा केरा उत्पादनमा ठूलो घाटा लाग्न थालेको अँधेरीका अर्का कृषक हर्कबहादुर राईले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार गोभारा किरा र पहेँले रोगका कारण केराका बोट कुहिने, पहेँलो हुने र मर्ने गरेका छन् । नगरपालिकाका– १४ साउने र धाप्लाङ तथा १५ को खाँबु, अँधेरी, छामलिङलगायत सुनकोसी किनार क्षेत्र केरा पाकेट क्षेत्रका रुपमा रहँदै आएका छन् । स्थानीय कृषकका अनुसार यी क्षेत्रमा प्रायः परपम्परागत केरा नै बढी उत्पादन हुने गरेको छ ।
Discussion about this post