बैशाख ९, सोलुखुम्बु । सोलुखुम्बुको थामेमा आरोही सम्मेलन सुरु भएको छ । सम्मेलनमा जलवायु परिवर्तनले थामेमा परेको प्रभावबारे छलफल गरिने ‘साथसाथै’ संस्थाका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गएको वर्ष साउन ३२ मा आएको लेदोसहितको बाढीले जनधनको क्षति गरेको थियो ।
सरकारले आउँदो जेठमा गर्न लागेको सगरमाथा संवादको पूर्व सन्ध्या र जलवायु परिवर्तनको असरमा केन्द्रित गरेर सम्मेलन गरिएको हो । सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थामी, नेपालका चर्चित आरोहीहरू कामीरिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छा आरोही तेम्वाछिरी शेर्पा, माया गुरुङलगायतको सहभागीता रहेको छ । जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले आयोजना गर्न लागेको सम्मेलनलाई नेपाल सरकारद्वारा आउँदो जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व कार्यक्रमका रूपमा लिइएको छ ।
सम्मेलनमा स्थानीयवासी तथा गएको वर्ष थामे क्षेत्रमा हिमपहिरोबाट प्रभावितसमेत सहभागी भएको आयोजक संस्थाले जनाएको छ । सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन, हिमाली जीवनशैलीका विविध पक्षबारे समूहगत छलफल भईरहेको आयोजकले जनाएको छ ।
Discussion about this post