बैशाख १४, सोलुखुम्बु । लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरिुएको छ । कालाजारको जोखिम रहेका वडाहरुमा पुगेर ‘स्प्रे म्यान’ मार्फत बिषादी छर्किने र सचेतना जगाउने लगायतका काम सुरु गरिएको हो ।
स्वास्थ्य कार्यालय ओखलढुंगाको सहयोग र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिषादी छर्कने चार जना व्यक्ति र एक जना फोरम्यानलाई तालिम दिएर पालिकाको तल्लो तटिय क्षेत्रका वडाहरुमा अभियान सञ्चालन भइरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले जानकारी दिनुभयो ।
पालिकाका वडा नम्बर ५,६,७,८ र ९ लगायतका वडामा पुगेर कालाजार, डेंगी र औलोको जोखिम रहेकोले रोकथामका लागि लामखुट्टे तथा भुसुना नष्ट गरि अभियान जारी रहेको उहाँले बताउनुभयो । पालिकामै सचेतना अभिवृद्धिका लागि सरोकारवालालाई अभिमुखिकरण प्रदान गरिएको थियो ।
यस अघि पालिकामा ३८ जनासम्मलाई कालाजार भएकोमा चालु आर्थिक बर्षसम्म आइपुग्दा जम्मा तीन जना मात्रै कालाजारका बिरामी रहेको स्वास्थ्य शाखा प्रमुख दाहालको भनाई छ ।
Discussion about this post