बैशाख १५, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा व्यवसायिक हेलीकप्टर उडानमा खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले लुक्ला भन्दा माथि रेस्क्यु, कार्गो र माउण्टेन फ्लाइट बाहेक अन्य सबै प्रकारका व्यवसायिक हेलिकप्टर उडानहरु पूर्ण रुपमा निषेध गरेको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाद्धारा हस्ताक्षरित सूचनामा अव्यवस्थित हेलिकप्टर उडानका कारण वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार व्यवसाय र पर्यटकीय गतिविधिहरुमा नकारात्मक असर परेको उल्लेख गरिएको छ । स्थानीय नागरिकहरुको माग संरक्षणको दृष्टिले सन् २०२५ को सुरुवातदेखि गाउँपालिका क्षेत्रभित्र अव्यवस्थित हेलिकप्टर उडान नियन्त्रण गर्न व्यवसायिक हेलिकप्टर उडानहरु पूर्ण रुपमा बन्द गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यदि सूचनाको उल्लघन गरी केही हेलिकप्टर व्यवसायी तथा ट्रेकिङ व्यवसायीहरुद्धारा व्यववसायिक हेलिकप्टर उडान संचालन भइरहेको देखिएकाले, अब उपरान्त सूचनाको उल्लघन गरेको पाईएमा त्यसबाट सिर्जना हुन सक्ने परिस्थितीहरुको जिम्मेवारी हेलिकप्टर व्यवसायी, प्याकेज बेच्ने पर्यटन व्यवसायी तथा प्याकेज खरिद गर्ने पर्यटक स्वयंले बेहोर्नुपर्ने गाउँपालिका प्रवक्ता लाक्पा छिरी शेर्पाले बताउनुभयो ।
साथै यस निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न स्थानीय संघ संस्था, नागरिक समाज, टे«किङ व्यवसायी, गाइड, पर्यटनसँग सम्बन्धित सरोकारवाला तथा सम्पूर्ण स्थानीयवासीहरुलाई सक्रिय सहयोग गर्न आग्रह गरिएको छ ।
Discussion about this post