जेठ १ सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा शेर्पा बालबालिका सहायता संघको विशेष पहलमा बेनी आविका २७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ, जसले विद्यार्थीहरूमा ठूलो उत्साह थपेको छ। आर्थिक रुपमा कमजोर, असहाय तथा पिछडिएको वर्गका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको यो छात्रवृत्तिले शिक्षामा पहुँच बढाउने अपेक्षा गरिएको छ । संघको आयोजनामा र लोरेन नेपाल फ्रान्सको आर्थिक सहयोगमा छात्रवृत्तिको कार्यक्रम अघि बढाइएको हो।
यसअघि संघले जुनबेशी माविका २५ जना र बुद्ध एकेडेमी आविका ३८ जना गरी ६३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकेको छ । संघका अध्यक्ष निमा शेर्पाका अनुसार, छात्रवृत्तिबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने लक्ष्य लिएको छ । संघले आगामी दिनहरूमा पनि छात्रवृत्ति वितरणलाई निरन्तरता दिने योजना बनाएको छ। यो क्रममा जेठ २ गते सेतीदेवी आवि र तामाखानी आवि, ३ गते नमो बुद्ध आवि, ४ गते हेवा, नुन्थाला र रिङमो, ५ गते रामपुर आवि र सुन्दर झरना आवि, ६ गते जिवन ज्योति मावि र सगरमाथा माविमा छात्रवृत्ति वितरण गरिनेछ ।
संघका संयोजक सन्त बहादुर मगर (र्याबिट) ले दिनुभएको जानकारी अनुसार, जेठ ७ गते लुरा, फाप्लु, सल्लेरी लगायत छुटेका विद्यार्थीहरुलाई फाप्लुस्थित नुम्बुर होटलमा छात्रवृत्ति वितरण गरिने कार्यक्रम तय गरिएको छ । उक्त अभियानमार्फत करिब ६ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखिएको छ । छात्रवृत्ति प्राप्त गरेपछि विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन् भने विद्यालय परिवार र अभिभावकहरूले सहयोगी दाताप्रति आभार व्यक्त गरेका छन् ।
Discussion about this post