जेठ ९, सोलुखुम्बु । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिका युनिकाको शंकास्पद मृत्युपछि प्रहरी अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले मृतक बालिकाको शव बिहीबार नियन्त्रणमा लिई जिल्ला अस्पतालको शवगृहमा राखेको हो। प्रहरीका अनुसार वैशाख ३० गते बालिकाका बुवा गोपाल तामाङ र उनकी भाइबुहारी कल्पना तामाङबीच घरेलु विवाद भएको थियो।
सोही विवादको क्रममा कल्पनाले भतिजी युनिकालाई घरको डिलबाट धकेलेको आरोप लागेको छ। गम्भीर घाइते भएकी युनिकाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो। तर उपचारकै क्रममा जेठ ७ गते उनको मृत्यु भएको थियो। शव दाहसंस्कारका लागि नोबेल अस्पतालबाट घर ल्याउने क्रममा प्रहरीले बिहीबार शवलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठका अनुसार घटनाको थप अनुसन्धानका लागि युनिकाका बुवा गोपाल तामाङ र भाइबुहारी कल्पना तामाङलाई नियन्त्रणमा लिइएको छ। उनीहरूमाथि अनुसन्धान गर्न आज जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी गरिएको छ।प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको छ भने बालिकाको शव पोष्टमार्टमका लागि राखिएको छ।
Discussion about this post