जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं। १, खरिखोलामा मह प्रशोधन तथा कृत्रिम रानो उत्पादन सम्बन्धी १५ दिने तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय, सोलुखुम्बुको आयोजनामा र वडा कार्यालयको समन्वयमा आइतबारबाट तालिम सुरु भएको हो । वडा अध्यक्ष फुनुरु शेर्पाको अध्यक्षता र घरेलु तथा साना उद्योग कार्यालय, सोलुखुम्बुका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रम संयोजक टेक बहादुर बस्नेतका अनुसार तालिममा १५ जना स्थानीयबासीहरुको सक्रिय सहभागिता रहेको छ । कार्यक्रमलाई सहजीकरण जिवनाथ बरालले गरिरहनुभएको छ । तालिमको उद्देश्य स्थानीय स्तरमा स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै कृषिमा आधारित उत्पादन प्रणालीलाई प्रवर्धन गर्नु रहेको आयोजकहरूले बताएका छन् । वडा अध्यक्ष शेर्पाले उक्त तालिमले स्थानीय जनताको आयआर्जनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले वडाबाट यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन दिइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि नारायण प्रसाद खतिवडाले ग्रामीण क्षेत्रमा भएका प्राकृतिक स्रोतको उचित उपयोग र सीप विकासमार्फत आत्मनिर्भरता हासिल गर्न सकिने बताउँदै घारमौरी नभएका ठाउँमा पनि तालिमपछि उत्पादन सुरु हुनु सकारात्मक संकेत भएको बताउनुभयो । तालिमको सफल कार्यान्वयनले भविष्यमा गाउँमै स्वरोजगार सिर्जना हुने आशा गरिएको छ ।
Discussion about this post