जेठ १६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ चंखिदोमा बाँसको भाटा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृतक ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या अभियोगमा प्रहरीले सोही स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवंम सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार राति आफ्नै घरमा रघुले प्रेम कुमारमाथि बाँसको भाटा र लाठ्ठीले प्रहार गरेका थिए । उक्त प्रहारबाट गम्भीर घाइते भएका प्रेम कुमारलाई तत्काल उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल, बुङ लगिएको थियो । तर, उपचारका क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्युको खबर प्राप्त भएपछि प्रहरी चौकी बुङबाट खटिएको टोलीले रघुलाई पक्राउ गरेको हो । मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइसकिएको छ भने घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।
Discussion about this post