जेठ १६, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका पूर्ण खोप सुनिश्चितता हासिल गर्ने पालिका घोषित भएको छ । शुक्रबार आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङको प्रमुख आतिथ्यता तथा गाउँपालिका अध्यक्ष एवं खोप समन्वय समितिका संयोजक लोकेन्द्र राईको अध्यक्षतामा दिप्रुङ चुइचुम्मालाई “पूर्ण खोप सुनिश्चितता गाउँपालिका–२०८१” को रुपमा घोषणा गरिएको हो ।
कार्यक्रममा उपप्रमुख सुरेश तामाङले पालिकाले देखाएको अग्रसरता, स्वास्थ्यकर्मीहरूको समर्पण, र समुदायको सहयोगले गर्दा यो उपलब्धि सम्भव भएको बताउनुभयो । उहाँले यस्ता सार्वजनिक स्वास्थ्य उपलब्धिहरूले समग्र जिल्लाको स्वास्थ्य अवस्था सुदृढ गर्न महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो । गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मुरारी सिग्देलका अनुसार पालिकाभित्रका सातवटै वडामा रहेका जन्मेदेखि १५ महिनासम्मका २ सय ४१ जना तथा १६ महिनादेखि ५९ महिनासम्मका ६ सय १२ जना लक्षित बालबालिकालाई सबै आवश्यक खोप दिइसकेपछि यो उपलब्धि हासिल गरिएको हो ।
पालिका अध्यक्ष लोकेन्द्र राईले स्वास्थ्यकर्मीहरूको अथक प्रयास, स्थानीय सरकारको सहकार्य र समुदायको सक्रिय सहभागिताका कारण यस अभियान सफल भएको बताउँदै, भविष्यमा पनि यस्ता जनस्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडास्तरदेखि पालिकास्तरसम्म समन्वयमा सञ्चालन गरिएको खोप अभियानले सकारात्मक परिणाम दिएको धारणा राख्नुभयो ।
कार्यक्रमकै अवसरमा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको “हेल्लो डाक्टर“ कार्यक्रमको टोल फ्रि नम्बरको समेत शुभारम्भ गरिएको गाउँपालिकाले जानकारी दिएको छ । यस कार्यक्रममार्फत स्वास्थ्य परामर्श सेवा टेलिफोनमार्फत उपलब्ध गराइनेछ ।
Discussion about this post