जेठ २२, सोलुखुम्बु । अहिले देशका विभिन्न भूभागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको जनाइएको छ। भोजपुर, धनकुटा, झापा, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, मनाङ र बागलुङ लगायतका जिल्लाका केही भागमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।
देशको पश्चिमी तथा मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएका छन् भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव उल्लेख्य रुपमा देखिएको छ। यसै कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यद्यपि, ठूलो पानी पर्ने संभावना भने नरहेको स्पष्ट गरिएको छ। मौसमविद् विनोद पोख्रेलका अनुसार भोलिदेखि ३–४ दिनसम्म देशभर मौसम सुक्खा रहने र पानी नपर्ने सम्भावना रहेको छ। यसबीचमा यात्रा वा खेतीका लागि मौसम अनुकूल हुने अनुमान गरिएको छ।
Discussion about this post