जेठ २२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ मा अवस्थित हिमाल दर्शन माध्यमिक विद्यालयले कक्षाकोठामा अनाधिकृत रुपमा टिकटक बनाउने कार्यमा प्रतिबन्ध लगाएको छ । विद्यालयका केही विद्यार्थीहरूले कक्षाकोठामा विद्यालयका सामग्रीहरू प्रयोग गरी टिकटक भिडियो निर्माण गरी सामाजिक सञ्जालमा पोष्ट गरेको पाइएपछि विद्यालय प्रशासनले तत्कालै उक्त निर्णय लिएको हो ।
विद्यालयले जेठ २१ गते एक सूचना जारी गर्दै सोही दिनदेखि कक्षाकोठामा यस्ता गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाएको जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक लालप्रसाद बास्तोलाद्वारा हस्ताक्षरित सूचनामा कक्षाकोठा पठनपाठनका लागि हो भन्ने कुरामा जोड दिँदै अनाधिकृत भिडियो निर्माण तथा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्य अनुशासन विपरीत भएको उल्लेख गरिएको छ । सूचनामा विद्यार्थीहरूलाई यस्ता कार्यबाट टाढा रहन र अनुशासनमा बस्न अनुरोध गरिएको छ ।
विद्यालयले यस्ता गतिविधिमा संलग्न विद्यार्थीहरूलाई आवश्यक अनुशासनात्मक कारवाही गर्ने चेतावनी समेत दिएको छ । विद्यालय प्रशासनको यो निर्णयले पठनपाठनको वातावरण सुधार हुने र विद्यार्थीमा अनुशासन कायम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।












Discussion about this post