जेठ २२, सोलुखुम्बु । देउराली माध्यमिक विद्यालय, डुम्रेकोट, खोटाङको ६८औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विविध सांस्कृतिक, शैक्षिक तथा खेलकुद प्रतियोगिताका साथ भव्य रूपमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम जेष्ठ १९ गतेबाट सुरु भई २१ गतेसम्म संचालन गरिएको प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रावा बेसी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष ज्ञान बहादुर पाण्डेको सभापतित्वमा र रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो दिन १९ गते सेवा क्षेत्रभित्रका विद्यालयहरूको सहभागितामा कक्षा ९–१० का छात्र÷छात्राबीच सङ्ख्यात्मक बल संकलन प्रतियोगिता, अन्तरविद्यालय शब्द सम्झना प्रतियोगिता, र पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगितामा आयोजक विद्यालयसहित रावा बेसी वडा नं. ४ र ५ तथा ऐसेलुखर्क वडा नं. ६ ज्यामिरेका टिमहरूको सहभागिता रहेको थियो । दोस्रो दिन २० गते आधारभूत तह १–८ का विद्यार्थीहरूका लागि लोकगीत, वाद्यबादन, नृत्य, हाजिरी जबाफ तथा खुल्ला “मलाइ हसाउनुहोस्, पुरस्कार जित्नुहोस” जस्ता प्रतियोगिताहरू आयोजना गरिएको छ भने खुला सामूहिक नृत्य प्रतियोगिता पनि उक्त दिनकै विशेष आकर्षण रहेको थियो ।
अन्तिम दिन २१ गते अन्तर माध्यमिक विद्यालयस्तरीय कक्षा ९–१० बिच वक्तृता प्रतियोगिता, कक्षा ११–१२ बिच कविता वाचन, एकल गायन तथा सेवाक्षेत्रभित्रका आमासमूहहरूबीच लोकदोहोरी प्रतियोगिता सम्पन्न भएका छन् । कार्यक्रमका प्रमुख दिनमा विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै विभिन्न अक्षयकोष तथा स्मृति छात्रवृत्तिहरू वितरण गरिएका थिए ।
विद्यालयको वार्षिकोत्सव सफल बनाउन अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा विभिन्न सरोकारवाला व्यक्तिहरुको उल्लेखनीय सहयोग प्राप्त भएको विद्यालय प्रशासनले जनाएको छ ।
Discussion about this post