जेठ ३०, सोलुखुम्बु । प्रकृतिको काखमा रहेको नेचासल्यान गाउँपालिका जिल्लाकै अन्न भण्डार मानिन्छ । यहाँका हर जन, यहाँका हर खेत, नागरिकहरुलाई खान दिन खटिएका छन् । तर… ती मेहनती किसानहरुको सपना अहिले बादर, दुम्सी, घोरल र मृग जस्ता वन्यजन्तुहरूले चपाएका छन् । विगत ३–४ वर्षदेखि धान, मकै, कोदो, तरकारी, फलफूल – के बाँकी रह्यो र ? बाली नष्ट हुँदै गए, जीविकोपार्जनको आधार हराउँदै गयो । यहाँका अधिकांश जनसमुदाय कृषि पेशामा आश्रित यस गाउँपालिकाका किसानहरुले हालै गाउँपालिका अध्यक्ष धनजन राई तथा प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरे समक्ष आफ्नो पीडा राख्दै, वन्यजन्तु नियन्त्रण र बालीनाली संरक्षणको माग गरेका छन्।
किसानहरुले आफ्नो जीविकोपार्जनमा ठुलो असर परिरहेको जनाउँदै संघीय र प्रदेश सरकारसमक्ष ठोस नीति निर्माणका लागि पनि अपिल गरेका छन् । यस बिषय प्रति गाउँपालिका अध्यक्ष धनजन राईले किसानको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै, स्थानीय सरकार किसानसँगै उभिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “किसान हाम्रो मेरुदण्ड हुन्, उनीहरुको श्रम र पसिनाले गाउँ समृद्ध बन्छ । मुख्य बाली मकै यतिबेला लहलह देखिएका छन् । तर खेतबारीमा पसेर बादरहरुले बाली नष्ट गरिरहेकाले किसानहरुले स्थानीय सरकारको साथ खोजिरहेका छन् । उनीहरुले जेठ ३० गतेबाट ‘एक घर एक किसान’ अभियान अन्तर्गत १०० जना किसानहरुको टोली जंगल, भीर र पाखामा लखेट्ने कार्यमा खटिनेछ, जसबाट बादरलाई नेचासल्यानको सीमाभित्रबाट हटाउने लक्ष्य राखिएको छ । यस अभियानमा सहभागी किसानहरुको खाजा खर्च स्थानीय निकायले व्यहोर्ने निर्णय समेत गरिएको छ ।
किसानहरुले स्थानीय तहमा मात्र नभई प्रदेश र संघीय सरकारले पनि दीर्घकालीन वन्यजन्तु व्यवस्थापन योजना ल्याउनुपर्नेमा जोड दिएका छन् । साथै, कृषकका खेतबारीमा जनावर पसेर क्षति पु¥याएमा क्षतिपूर्ति दिने व्यवस्था मिलाउनुपर्ने माग समेत गरिएको छ । यो समस्या केवल नेचासल्यानको मात्र होइन, देशका विभिन्न ग्रामीण भेगमा कृषि निर्भर समुदायले जुधिरहेको साझा चुनौती हो । त्यसैले वन संरक्षण र कृषक अधिकारबीच सन्तुलन राख्ने नीति तथा स्थानीय तह, समुदाय र सरकारको साझा प्रयास अब अत्यावश्यक बन्दै गएको छ । नेचासल्यानको उदाहरणले देखाएको छ – जब किसान एकजुट हुन्छन् र सरकार जवाफदेही बन्छ, तब समाधानको बाटो खुल्न थाल्छ ।
Discussion about this post