जेठ ३१, सोलुखुम्बु । खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै कोदोको बिस्कुट उत्पादन, ब्राण्डिङ र प्याकेजिङसम्बन्धी तालिम सञ्चालन गरेको छ । रैथाने बाली कोदोखेतीको प्रवद्र्धन गर्दै स्थानीय स्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित नगरपालिकाले यो पहल सुरु गरेको हो । ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं. ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजित सात दिने तालिममा १२ जना विद्यार्थीसहित महिला उद्यमीको समेत सहभागिता रहेको थियो।
तालिममा सहभागीहरूले कोदोबाट बिस्कुट, कुकिज, निम्की, पाउरोटीजस्ता परिकार उत्पादन गरी प्याकेजिङ समेत गरेका थिए। यी उत्पादनहरू तालिम समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । वडाध्यक्ष कमल गिरीका अनुसार, तालिममा उत्पादन गरिएका कोदोका परिकार नगरपालिकाले नै खरिद गर्नेछ। खरिद गरिएका परिकारलाई ‘कोसेली घर’ मार्फत पाहुनालाई उपहारस्वरूप वितरण गर्ने योजना रहेको उनले बताउनुभयो ।
यस पहलले रैथाने बालीको संरक्षण मात्र नभई स्थानीय उत्पादनको मूल्यवृद्धि र उद्यमशीलताको प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।नगरपालिकाले भविष्यमा पनि यस्ता तालिममार्फत युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने योजना बनाएको छ ।
Discussion about this post