जेठ ३१, सोलुखुम्बु । सोलुखुम्बुका चार जना साहसी आरोहीलाई सगरमाथा शिखरमा सफलतापूर्वक पाइला टेकेको अवसरमा शुक्रबार राजधानी काठमाडौँमा विशेष सम्मान गरिएको छ । नेकपा एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
सम्मानित आरोहीहरूमा पेम्बा शेर्पा, मिलन खालिङ राई, दाजाङबु शेर्पा र कुन्साङ छोपेल शेर्पा छन् । कार्यक्रममा बोल्दै मन्त्री राईले सामान्य आर्थिक अवस्थाबाट आएका यी युवाहरूले विश्वको सर्वोच्च शिखर चढ्न देखाएको साहस प्रशंसनीय रहेको बताउनुभयो । सगरमाथा आरोही पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि पनि सफल आरोहण गर्न सकेको अनुभव बाँड्दै जीवनका कठिनाइहरूसँग लड्न सकिने प्रेरणा दिन खोजेको बताउनुभयो ।
सम्पर्क मञ्चका अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षता तथा मन्त्री राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले यस्तो सम्मान कार्यक्रमले सम्पूर्ण सोलुखुम्बु जिल्लालाई गौरवान्वित बनाएको बताउनुभएको छ । कार्यक्रमले हिमाली क्षेत्रका साहसी व्यक्तिहरूको योगदानलाई कदर गर्दै युवाहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
Discussion about this post