जेठ ३१, सोलुखुम्बु । मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। आज बिहान सुन्दरहरैँचा नगरपालिका–७ का ५५ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५० वर्षीया श्रीमती भुलकुमारी लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
माछा मार्ने उद्देश्यले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिनुभयो। उहाँका अनुसार दम्पती बिहानै घर नजिकैको खोलामा माछा मार्न गएका थिए।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस किसिमको माछा मार्ने तरिका जोखिमपूर्ण मात्र नभई गैरकानुनी समेत भएकाले प्रहरीले यस्ता गतिविधिबाट सचेत रहन स्थानीयलाई आग्रह गरेको छ।











Discussion about this post