असार २, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाही गाउँका बासिन्दा अब शुद्ध र सुरक्षित खानेपानी उपभोग गर्न पाउने भएका छन् । ‘एक घर, एक फिल्टर’ अभियानअन्तर्गत नगरपालिकाको आर्थिक सहयोग र वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहकार्यमा गाउँका सबै २६ घरधुरीलाई निःशुल्क ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । वडाध्यक्ष भुपालसिं राईका अनुसार गाउँमा पहिलेदेखि नै पानीको सुविधा भए पनि मुहान प्रदूषित रहेकाले बासिन्दाहरू दूषित पानी पिउन बाध्य थिए।
करिब आठ सय मिटर टाढाको धामीखोलाबाट पाइपमार्फत ल्याइएको पानी अत्यधिक प्रदूषित भेटिएपछि स्थानीयहरूले नगरपालिकासँग स्वच्छ पानीका लागि पहल गर्न माग गरेका थिए । नगरप्रमुख विमला राईका अनुसार खोलाको पानी प्रयोग गर्न अयोग्य पाइएपछि हरेक घरमा सुरक्षित पानी आपूर्ति गर्न फिल्टर वितरण गरिएको हो ।
यसैअन्तर्गत च्यास्मिटारस्थित बाल विकास प्राथमिक विद्यालयमा पनि सोही प्रविधिको फिल्टर प्रयोग गरिएको छ । यस अभियानपछि स्थानीय बासिन्दाहरूले पानीजन्य रोगको जोखिमबाट बच्ने अपेक्षा गरिएको छ। नगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्तै प्रविधि विस्तार गर्ने योजना बनाएको छ ।
Discussion about this post