असार ४, सोलुखुम्बु । खोटाङको रावाबेंशी गाउँपालिका कुभिण्डेमा यतिबेला लिची पाकेपछि गाउँको माहोल नै बद्लिएको छ । प्रेम बहादुर राना मगरजस्ता कृषकको बगानमा पाकेका रसीला लिचीले गाउँभर चहलपहल ल्याएको छ । बोटमा राताम्याँ लिची देख्नासाथ गाउँका कृषक, व्यापारी र उपभोक्ताको भीड लाग्ने गर्छ। यसवर्ष फुल खेल्ने बेला परेको असिना पानीका कारण लिची अघिल्ला वर्षको तुलनामा केही कम फले पनि, पाकेका लिची टिप्न, जंगली जनावरबाट जोगाउन र बजार लैजान कृषकहरुको दिनचर्या निकै व्यस्त बनेको छ ।
बिहानैदेखि बेलुकासम्म बगानमा काम गर्ने, बिक्रीका लागि तयारी गर्ने तथा ग्राहकसँग समन्वय मिलाउने कामले कृषकलाई भ्याईनभ्याई छ । कुभिण्डेमा फलेको लिचीको स्वाद र गुणस्तर सुनेर गाउँगाउँबाट मानिसहरु बोटमै पुगेर ठेक्कामा किन्ने गरेका छन् । केही त काठमाडौँ, चितवन र तराईका विभिन्न ठाउँबाट गाडी लिएर गाउँमै आइपुग्छन् । किसानका अनुसार कतिपयले त सिधै बोटमै लिची किनेर ठूला बजार लैजाने गर्छन् ।
कुभिण्डेको ढाडगाउँ, डाँडागाउँ, हाँचेका, दम्कु, माझगाउँ लगायतका क्षेत्रमा लिचीको उत्पादन हुने गरेको छ। यस्तै, खार्पा, हौचुर, दुबेकोल, डुम्रेधारापानी र बुईपा पनि लिची उत्पादनमा अगाडि छन्। यद्यपि, जिल्लामा अझै व्यवसायिक रुपमा लिची खेतीको विकास भएको छैन। कृषकहरुले भने सानातिना रूपमा लिची बिक्री गरेर आफ्नो घरव्यवहार चलाउँदै आएका छन् । लिचीको माग र उत्पादन बढ्दै गए पनि हालसम्म सरकारी तहबाट व्यवसायिक उत्पादनतर्फ खासै ध्यान दिइएको छैन । यदि लिची खेतीलाई प्रविधियुक्त र व्यवसायिक बनाइयो भने खोटाङका कृषकको जीवनस्तर सुधारिन सक्ने सम्भावना प्रवल देखिन्छ ।
Discussion about this post