असार ४, सोलुखुम्बु । हिमस्टार ऊर्जा प्रालिले हालै गरेको सेयर निष्कासनको सूचना सार्वजनिक भएपछि सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले यस विषयमा महत्वपूर्ण निर्णयहरू अघि सारेको छ । गएको सोमबार बसेको गाउँ कार्यपालिकाको १९ औं बैठकमा पालिकाले प्रस्ताव पेश गर्दै लिखुपिके गाउँपालिका पूर्ण रूपमा प्रभावित क्षेत्र भएको भन्दै यसभित्रका सबै नागरिकलाई सेयर भर्न पाउने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
“लिखुपिके गाउँपालिकाभित्रका सम्पूर्ण नागरिकलाई सेयर आवेदन दिन मिल्ने गरी स्थानीय सेयर आइपिओ वितरणको प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डमा अनुरोध गर्ने निर्णय गरियो,” निर्णयपत्रमा उल्लेख गरिएको छ । यो निर्णय नेपाल धितोपत्र बोर्ड र हिमस्टार ऊर्जा प्रालीबीच सहमति भएमा लिखुपिके बासीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । यसले ऊर्जा परियोजनाबाट प्रभावित समुदायमा आर्थिक सहभागिता र स्वामित्वको अनुभूति गराउने विश्वास लिइएको छ । यसैबीच, बैठकमा अर्को निर्णय पनि गरिएको छ ।
गाउँपालिकाका पाँचवटै वडाबाट फलफुल उत्पादनमा योगदान पु¥याएका उत्कृष्ट किसानहरू मध्येबाट पाँच जनालाई छनोट गरी पुरस्कृत गरिनेछ । यसले कृषिमा प्रतिस्पर्धात्मकता र उत्पादकत्वमा सुधार आउने विश्वास गरिएको छ । पालिकाले स्थानीय विकास र जनसहभागितालाई प्राथमिकता दिँदै अगाडि सारेका यस्ता निर्णयहरूलाई सकारात्मक रूपमा हेरिएको छ ।
Discussion about this post