असार ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ मा अवस्थित स्वास्थ्य चौकी बेनीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बिच सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नुभएको हो ।
किशोर–किशोरीको गोपनीयता र आत्मसम्मानको संरक्षण हुने, स्वास्थ्य सेवा लिन आउने किशोरहरूलाई खुलेर कुरा गर्न सहज वातावरण मिल्ने, प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत मैत्रीपूर्ण व्यवहारसहित सेवा प्रदान गर्ने, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, लत/नशा नियन्त्रण लगायतका सेवा समेटिएको, सूचना, शिक्षा तथा परामर्श सेवा उपलब्ध गराइने लगायतको माप्दण्ड पुरा गरेर किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक सुवास तामाङले बताउनुभयो ।
कार्यक्रममा मेयर शेर्पाले किशोर–किशोरीले नलजाईकन स्वास्थ्यसम्बन्धी समस्या राख्न सक्ने वातावरण तयार पारिएको बताउनुभयो । साथै, स्वास्थ्यकर्मीलाई किशोर–किशोरीसँग समन्वय गरी मैत्रीपूर्ण सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । यस्तै वडा नं. २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बनाउन निकै संघर्ष गर्नुपरेको उल्लेख गर्दै यस उपलब्धिमा नगरपालिकाबाट खटिएका जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले मुख्य भूमिका खेलेको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रममा स्वयंसेविकालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक चमर बहादुर मगर लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post