असार ८, सोलुखुम्बु । नेपाल विद्युत् प्राधिकरणको कार्यस्थलमा ट्रान्सफार्मर परिवर्तन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका सोलुदुधकुण्ड नगरपालिका–७ निवासी रबिनकुमार बस्नेतका परिवारलाई राहत सहायता प्रदान गरिने सहमति भएको छ । उक्त घटनापछि प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले विभिन्न राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले मृतक बस्नेतका परिवारलाई तत्काल राहत स्वरूप ४१ हजार ५ सय रुपैयाँ क्रियाखर्च प्रदान गर्ने निर्णय गरेको छ । साथै, बिमा बापत सात लाख रुपैयाँ क्षतिपूर्ति स्वरूप उपलब्ध गराइनेछ । सामाजिक सुरक्षा कोष कट्टीअनुसार मासिक ३३५४.२० को दरले काम गरेको अवधिको हिसाबले रकम उपलब्ध गराइनेछ । साथै, मृतकका छोरीलाई उच्च तहसम्म निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराइने निर्णय बैठकले गरेको छ ।
मृतककी श्रीमतीलाई नेपाल विद्युत् प्राधिकरण कार्यालय सोलुखुम्बुमा योग्यता र दरबन्दीको आधारमा सेवा करारमा नियुक्ति दिइने र उमेर हदसम्म निरन्तरता दिइने उल्लेख गरिएको छ । बैठकले मृतक परिवारको माग र क्षतिपूर्तिको उपलब्धताका लागि ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा औपचारिक अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
Discussion about this post