असार १२, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४, भण्डारघरमा २२ औँ राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका साथ मनाइने भएको छ । नेचासल्यान गाउँपालिका र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा असार १५ गते “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिने भएको हो । कृषि शाखा प्रमुख सबिता बास्तोलाका अनुसार कार्यक्रम विहान ७ः३० बजेबाट सुरु हुनेछ।
कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि, कृषि प्राविधिक, लगायतको सहभागिता रहनेछ । प्रमुख अतिथि तथा सरोकारवालाहरूको उपस्थितिमा खेतमा रोपाइँ कार्यक्रम, कृषि सम्बन्धी अन्तरक्रिया, धानको महत्वबारे जानकारीमूलक सन्देश तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिनेछ । कृषकहरूमा धान उत्पादनप्रति रुचि बढाउनु र दीगो कृषि प्रणालीमार्फत खाद्य सुरक्षालाई मजबुत पार्नु कार्यक्रमको उद्देश्य रहेको छ । साथै, आत्मनिर्भर नेपालको आधारशिला स्वरूप कृषि क्षेत्रको सुदृढीकरणलाई समेत यसले बल पु¥याउने आयोजकको विश्वास छ ।
कृषि शाखा प्रमुख बास्तोलाले सम्पूर्ण कृषक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूलाई कार्यक्रममा समयमै उपस्थित भइ धान दिवसलाई सफल बनाउन अनुरोध गर्नुभएको छ । धान दिवसजस्ता कृषि पर्वहरूले किसानको मनोबल अभिवृद्धि गर्नका साथै कृषि पेशालाई सम्मानित बनाउने अभियानमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
Discussion about this post