असार १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले गाउँपालिका भित्रका नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई निःशुल्क अभ्यास पुस्तिका वितरण गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले चालिएको यो पहलले स्थानीय तहको शिक्षाप्रतिको प्रतिबद्धता प्रस्ट पार्दछ । गाउँपालिकाले सम्पूर्ण विद्यार्थीलाई कुनै पनि आर्थिक बोझ नपारी अभ्यास पुस्तिका उपलब्ध गराएको हो ।
पालिकाका अनुसार अभ्यास पुस्तिका व्यापारिक प्रयोजनका लागि नभई पूर्णतः शैक्षिक सुधारको उद्देश्यले वितरण गरिएको हो । विद्यार्थी र अभिभावकहरू पनि पालिकाको यो कदमप्रति खुसी र आभारी देखिएको सहकर्मी देविप्रसाद घिमिरेले जानकारी दिनुभयो । अभ्यास पुस्तिका पाएपछि विद्यार्थीहरू उत्साहित हुँदै अध्ययनमा झन सक्रिय हुन थालेको विद्यालयहरूले जनाएका छन् ।
यस कदमले आर्थिक रूपमा कमजोर वर्गका परिवारलाई राहत दिँदै बालबालिकामा अध्ययनप्रतिको रुचि बढाउने विश्वास लिइएको छ । गाउँपालिकाले भविष्यमा पनि यस्ता शैक्षिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
Discussion about this post