असार १४, सोलुखुम्बु । कोशी प्रदेशमा यस वर्षको असार दोस्रो सातासम्म १४.२५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको । अघिल्लो वर्ष यही अवधिमा १३.७१ प्रतिशत रोपाइँ भएको थियो । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यो तथ्यांक सार्वजनिक गर्दै समग्र रूपमा रोपाइँको स्थिति सकारात्मक रहेको जनाएको छ । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ३ सय ८७ दशमलव २६ हेक्टरमा रोपाइँ भइसकेको छ ।
खासगरी पहाडी जिल्लाहरूमा समयमै रोपाइँ हुने गरेकोमा यसपटक वर्षा अभावले केही ढिलाइ भएको पाण्डेको भनाइ छ । यद्यपि, यो वर्ष विगतका वर्षहरूको तुलनामा बढी वर्षा हुने प्रक्षेपण रहेकाले समग्र रोपाइँमा असर नपर्ने र बढी रोपाइँ हुने अनुमान रहेको डा. पाण्डेले बताउनुभयो । उहाँले पहाडको भौगोलिक अवस्था र चिसो मौसमका कारण त्यहाँ छिटो रोपाइँ हुने गरेको उल्लेख गर्नुभयो । उच्च पहाडमा असार अन्तिमसम्म र तराईमा भने भदौ दोस्रो सातासम्म रोपाइँ गर्न सकिने जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार जिल्लागत रूपमा ताप्लेजुङमा १७.८५, पाँचथरमा ४५, इलाममा १२, भोजपुरमा ४२, सोलुखुम्बुमा ६.३१, संखुवासभा र धनकुटामा ७–७, तेह्रथुममा २६, उदयपुरमा ११, ओखलढुंगामा ३१ र खोटाङमा ३१.३० प्रतिशत रोपाइँ भइसकेको छ । तराईका जिल्लामध्ये झापामा ८, सुनसरीमा ९ र मोरङमा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयले रोपाइँका लागि रासायनिक मलको पर्याप्त आपूर्ति भएको जनाएको छ । यस वर्ष पर्याप्त वर्षा र मल आपूर्तिका कारण उत्पादनमा सुधार आउने अपेक्षा गरिएको डा. पाण्डेको भनाइ छ। तर, पहाडी जिल्लामा समयमै पानी नपरे त्यसले समग्र उत्पादनमा प्रभाव पार्न सक्ने बताइएको छ ।
Discussion about this post