जेठ १९, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा ४५ दिने ढाका बुनाई सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा कोशी प्रदेश सामाजिक विकास मन्त्रनलय, तालिममा सहभागी संस्था र सोताङ गाउँपालिका महिला शाखा सोताङको त्रिपक्षीय लागत साझेदारीमा करिब १५ लाख बजेट विनियोजना गरी तालिम सुरु भएको हो ।
विपन्न, दलित, जनजाति, सीमान्तकृत, एकल महिला र पिछडिएको महिलाहरुको लागि आर्थिक आत्मनिर्भर कार्यक्रम अन्तर्गत महिलालाई उद्यमी बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । ढाका बुनाई तालिम यही जेठ १७ गतेबाट सुरु भई असार ३१ गते सम्म सञ्चालन गरिने सामाजिक तथा आर्थिक विकाश शाखाका सहायक महिला विकास निरीक्षक रीता माया बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाको ५ वटै वडाका २५ जना महिलाहरुको उत्साहजनक सहभागीता रहेको छ । तालिम सोताङ गाउँपालिका वडा नम्बर ५ स्थित लाली गुरास महिला बचत तथा क्रण सहकारी संस्थाको सभाहलमा संचालन भैरहेको छ, भने बुद्ध कुमारी श्रेष्ठले तालिमको सहजीकरण गरिरहनुभएको छ ।
Discussion about this post