असार २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवन सहज बनाउन सहयोगी सहायक सामाग्री वितरण गरेको छ । सोमबार नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विभिन्न अपाङ्गता भएकाहरुलाई आवश्यक सामग्री प्रदान गरेको हो । उक्त कार्यक्रम करुणा फाउण्डेशन नेपाल, सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको साझेदारी, तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सीपी कुर्सी ४ जना, उभिरहेको फ्रेम १ जना, ह्वील कुर्सी २ जना, ह्यान्ड ग्रिपर ३ जना, एक्सक्युलरी बैसाखी २ जना, कुहिनो बैसाखी २ जना, ट्वाइलेट कुर्सी ३ जना, एल केन ३ जना, जेलबल १ जना, सेतो केन ४ जना, हियरिङ एड् ३ जना, एयर म्याटर २ जना, खी प्रोस्थेसिस माथि २ जना, र खी प्रोस्थेसिस तल ३ जना गरी विभिन्न प्रकारका सामग्री वितरण गरिएको सोलुदुधकुण्ड नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख रीता ढुंगानाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगर उपमेयर गान्धीमा तामाङले अपाङ्गता भएका व्यक्तिहरु समाजको अभिन्न अंग भएको उल्लेख गर्दै उनीहरुको जीवनस्तर उकास्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत टुक्ति शेर्पाले सहायक सामग्री वितरण कार्य अपाङ्गता भएका व्यक्तिहरुको आत्मनिर्भर जीवन यापनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा स्थानीय अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुका अभिभावक, सरोकारवाला निकायका प्रतिनिधि तथा नागरिक समाजका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहायता सामग्री पाएपछि लाभग्राहीहरुले खुशी व्यक्त गर्दै नगरपालिकाप्रति आभार व्यक्त गरेका थिए ।
Discussion about this post