असार २७, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले अन्तर्जातीय विवाह गर्ने नव दम्पतीलाई सम्मान गरेको छ । शुक्रबार वडा नं. २ निवासी अम्वर बहादुर नेपाली दर्जीका छोरा अनिल परियार र सिद्धिचरण नगरपालिका वडा नं. ११ निवासी पूर्ण बहादुर तामाङकी छोरी इन्दिरा तामाङबीच २०८१ साल पुस ८ गते चिशंखुगढी गाउँपालिका–२ पोखरेमा अन्तरजातीय (दलित–गैरदलित) विवाह सम्पन्न भएको थियो ।
दलित र गैर–दलितबीचको अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्न बनेको “दलित र गैर दलित बीच हुने अन्तर्जातीय विवाह प्रोत्साहन सम्बन्धी कार्यविधि, २०८१” अनुसार नवदम्पतीलाई गाउँपालिकाको तर्फबाट एक लाख रुपैयाँसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष निशान्त शर्माले नवदम्पतीलाई सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै अन्तरजातीय विवाहजस्ता सामाजिक सद्भाव बढाउने कार्यलाई गाउँपालिकाले निरन्तर समर्थन गर्ने बताउनुभयो ।
गाउँपालिकाले दलित समुदायप्रति समाजमा विद्यमान विभेद अन्त्य गर्दै समावेशी र समानतामूलक समाज निर्माणमा सहयोग पु¥याउने उद्देश्यले यस्तो कार्यविधि ल्याएको जनाएको छ । नवविवाहित जोडी अनिल र इन्दिराले आफूहरूले पाएको सम्मानले आत्मबल थपिएको भन्दै आगामी दिनमा समाजमा सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Discussion about this post