असार २७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा बालमैत्री वडा घोषणासँगै नवजात शिशुहरूको जन्म दर्ता गरी जन्म दर्ता प्रमाणपत्र वितरण गरिएको छ । यसै अवसरमा सुत्केरी आमाहरूलाई पोषण प्रोत्साहन रकमसहित कोसेली वितरण गरिएको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकी गार्मामा सुत्केरी सेवा लिएका गर्भवती महिलाहरूलाई नेपाल सरकारबाट प्रदान गरिँदै आएको नियमित सेवा बाहेक, हिमालयन केयर फाउन्डेसनको आर्थिक सहयोगमा प्रत्येक आमालाई थप ५ हजार बराबरको पोषण प्रोत्साहन राशि प्रदान गरिएको हो । साथै, “सुत्केरी घरभेट कार्यक्रम” अन्तर्गत विशेष कोसेली समेत प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
यसपटक जम्मा ७ जना सुत्केरी आमाहरूले पोषण प्रोत्साहन र कोसेली प्राप्त गरेका छन् । बालमैत्री वडा घोषणासँगै सुरक्षित मातृत्व, बाल स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै गार्माले उदाहरणीय कदम चालेको स्थानीय बासिन्दाहरूले बताएका छन् । कार्यक्रमको समन्वय स्वास्थ्य चौकी गार्माले गरेको हो । वडा कार्यालयका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
Discussion about this post