असार २९, सोलुखुम्बु । बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बु र खोटाङ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ। पछिल्लो वर्षा प्रणालीका कारण आज दिउँसो र राति यी दुबै जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ भने राति कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा पनि भारी वर्षा हुन सक्ने संकेत देखिएको छ।
सोहीअनुसार हिमाली र पहाडी भेगमा पर्ने सोलुखुम्बु र खोटाङ जिल्ला विशेष रूपमा प्रभावित हुने आशंका गरिएको हो। यी जिल्लाभित्रका खोला, नदी तथा भीरछेउका बस्तीमा बाढी तथा पहिरोको सम्भावना उच्च भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। विशेष गरी रातिको समयमा मेघगर्जन, चट्याङ र निरन्तर वर्षाका कारण बाढी र भूक्षयजन्य जोखिम बढ्ने भएकाले साना नदी, खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।
स्थानीय प्रशासन, सुरक्षाकर्मी र विपद् व्यवस्थापन निकायलाई सक्रिय रहन आग्रह गरिएको छ भने आवश्यक परेमा अस्थायी विस्थापनको व्यवस्था मिलाउन समेत सिफारिस गरिएको छ। महाशाखाले वर्षा तथा बाढीसम्बन्धी थप जानकारीका लागि नागरिकलाई आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत अद्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ।
Discussion about this post