असार ३०, सोलुुखुम्बु । उच्च अदालत विराटनगरले कोशी प्रदेश लोकसेवा आयोगले अधिकृत सातौँ तहको पदपूर्तिका लागि गरेको विज्ञापनमा पद सङ्ख्या निर्धारण गर्ने निर्णयलाई बदर गरिदिएको छ । उक्त निर्णय बदर गरेसँगै कोशी प्रदेश लोकसेवा आयोगले अधिकृत सातौँ तहका २२ पदका लागि ७६५ जनासँग चौथो चरणको लिखित परीक्षा लिइसकेको छ ।
तर, अदालतको आदेशसँगै नतिजा भने प्रकाशित गर्न सकेको छैन । उच्च अदालतले ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ को व्यवस्था विपरीत रिक्त पद सङ्ख्याको आधारमा प्रतिशत गणना गरिएको भन्दै आयोगको निर्णय बदर गरेको हो । न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले आयोगको २०८१ असोज १० गतेको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गर्दै, अब ऐनबमोजिम कुल दरबन्दीलाई आधार मानेर प्रतिशत पुनः निर्धारण गर्न २०८१ चैत २५ गते नै परमादेशको आदेश जारी गरेको थियो । तर, आयोगले सर्वोच्चमा सोही विषय लिएर निवेदन दिएको छ ।
सर्वोच्चको आदेश नआएसम्मका लागि अन्तिम चरणको परीक्षाको रिजल्ट प्रकाशित गर्न नसकेको लोकसेवा आयोगका सूचना अधिकारी केदारनाथ अधिकारीले जानकारी दिए । उनले सर्वोच्चको आदेश आएपछि मात्रै नतिजा प्रकाशित हुने र कम्प्युटर परीक्षा र अन्तर्वार्ताको प्रक्रिया सुरु हुने बताउनुभयो ।
Discussion about this post